Have a project for us?
DO YOU HAVE ANY QUESTIONS REGARDING YOUR NEXT CONSTRUCTION PROJECT?
Published on: Jul 14, 2024
भर्याङमा कस्तो रेलिङ लगाउने, गुणस्तर र उचाइ कस्तो हुनुपर्छ?
रेलिङ सुरक्षाको लागि बनाइन्छ। केटाकेटी बुढाबुढी मात्र होइन कहिले काँही सामान्य मान्छेलाई पनि भर्याङमा अफ्ठ्यारो पर्न सक्छ। यस्तोमा रेलिङले सुरक्षाको काम गर्छ। घरको भर्याङ, बाल्कोनी, टेरेस, बार्दली, छत आदि क्षेत्रमा हामी रेलिङ लगाउँछौं। यसको उद्देश्य भनेको परिवारका सदस्य कसैलाई पनि दुर्घटना नहोस् भन्ने हुन्छ। साथै घरको बाहिरी र भित्री सुन्दरता बढाउन पनि रेलिङले उत्तिकै भूमिका खेल्छ। त्यसैले हेर्दा सुहाउँदो राम्रो हुनुको साथै रेलिङ सुरक्षित पनि हुनुपर्छ।
मोर्डन घर बनाइएको छ भने त्यसमा ग्लास रेलिङ र क्लासिकल घरमा काठको रेलिङ सुहाउँदो देखिन्छ । तर, घरको डिजाइन, छनौट र निर्माण लागत अनुसार यो फरक पर्न सक्छ। बजारमा आवश्यकता अनुसारका फलाम, स्टिल र इँटाका रेलिङ अप्सनका रुपमा उपलब्ध छन्।
सुरक्षाको हिसाबले भने इँटाको वालको रेलिङ बलियो हुन्छ। तर, राम्रोसँग वेल्डिङ गरेर बनाएको छ भने स्टिल र मेटल रेलिङ पनि भरपर्दो मानिन्छ।साथै, रेलिङ बनाउँदा प्रयोग गरिने म्याटेरियलको गुणस्तरले पनि घरको कुल निर्माण लागतमा फरक पार्न सक्छ।
बजारमा कस्ता कस्ता डिजाइनका रेलिङ प्रयोगमा छन्? त्यसबारे चर्चा गरौं
इँटाको रेलिङ
बजारमा रेलिङको विकल्प नआउँदा सम्म इँटाको चार इन्च वाल लगाएर नै रेलिङ बनाइएको हुन्थ्यो। यो रेलिङ केही वर्ष पुराना घरहरुमा अझै पनि देख्न सकिन्छ। यसैलाई पनि कलात्मक डिजाइन दिएर आकर्षक बनाउन सकिन्छ। यो सबैभन्दा सस्तो र सजिलै बनाउन सकिने रेलिङ हो। वाल लगाएर प्लास्टर गर्ने र प्लास्टरमा विभिन्न बुट्टा दिएर राम्रो देखाउन सकिन्छ। त्यस्तै इँटा इँटाबीच ग्याप राखेर पनि डिजाइन निकाल्न सकिन्छ। पछिल्लो समय इँटाकै वालको माथि स्टील र मेटलको रेलिङ पनि जोड्ने चलन बढेको छ। यस्तो चाही विशेषगरी घरको छतमा देख्न सकिन्छ।
इँटाको रेलिङ बनाउन खर्च कम लाग्ने भएकाले, घरको कुल निर्माण लागत घटाउने उपायका रूपमा पनि यसलाई अपनाइन्छ।
ग्लास रेलिङ
आधुनिक घरहरुमा ग्लास रेलिङको प्रयोग बढ्दो छ। यसले घरलाई आकर्षक लुक्स दिन्छ। बाहिरी बरन्डा, छत वा सिढीमा पनि ग्लास रेलिङ प्रयोग गर्न सकिन्छ। स्टिल रेलिङसँग मिलाएर पनि ग्लास रेलिङलाई प्रयोग गर्न सकिन्छ। यो प्रकारको रेलिङ पनि अरु भन्दा अलिकति महँगो हुन्छ। कमर्सियल विल्डिङ, शपिङ कम्प्लेक्स र बङ्लोहरुमा ग्लास रेलिङको प्रयोग देख्न सकिन्छ।
ग्लास रेलिङले घरलाई आधुनिक बनाउँछ तर यसको निर्माण लागत स्टिल वा इँटाको रेलिङ भन्दा बढी पर्न सक्छ। त्यसैले योजना बनाउँदा बजेट र निर्माण लागतको हिसाब पनि ध्यान दिनुपर्छ।
स्टील रेलिङ
स्टिल रेलिङ अहिले निकै चलनमा छ। हेर्दा राम्रो र खिया नलाग्ने साथै बलियो हुनेहुँदा यो सबैको रोजाइमा परेको मान्न सकिन्छ। आर्थिक हिसाबले पनि यो खासै महँगो हुदैन। गोलो र चेप्टो आवश्यकता अनुसारको रेलिङ छानेर प्रयोग गर्न सकिन्छ। वेल्डिङ गरेको ठाउँलाई पनि धारमारेर चिल्लो बनाईसकेपछि यसमा कुनै जोखिम हुँदैन। यो रेलिङ सफा गर्न पनि सजिलो हुन्छ।
साथै, स्टिल रेलिङले टिकाउपनका कारण दीर्घकालीन रूपमा निर्माण लागत घटाउन मद्दत गर्छ किनभने यसमा मर्मत खर्च निकै कम लाग्छ।
आइरन रेलिङ
आइरन रेलिङ स्टिल रेलिङको विकल्प हो। स्टिलको तुलनामा आइरन रेलिङ लगाउन सस्तो पर्छ। तर, पछिल्लो समय यसको प्रयोग घट्दै गइरहेको छ। हातमा राम्रो सिप भएको मिस्त्रीले बनाएको मेटल रेलिङ एकदमै आकर्षक देखिन्छ। स्टिल भन्दा आइरनर मेटल रेलिङलाई आवश्यकता अनुसार घुमाउन, बङ्ग्याउन र विभिन्न आकारको बनाउन सकिन्छ। यसो हुँदा यसको उपयोगिता धेरै हुन्छ। फलामको रेलिङलाई आकर्षक बुट्टा राखेर काठको रेलिङसँग पनि प्रयोग गरिन सकिन्छ। आइरन रेलिङलाई पानी पर्ने स्थानमा पनि सजिलै राख्न सकिन्छ। मुख्य टेरेस र छत जोड्ने भर्याङ फलामको र रेलिङ पनि फलामकै हुन्छ।
यस प्रकारको रेलिङले सुरक्षासँगै निर्माण लागत सन्तुलित राख्न मद्दत गर्छ, किनभने फलाम सजिलै उपलब्ध र सस्तो म्याटेरियल हो।
काठको रेलिङ
काठको रेलिङ सबैभन्दा आकर्षक देखिन्छ। यसको प्रयोगले घरको सुन्दरता अझै बढाँउछ। तर अहिलेको समयमा यसमा खर्च पनि धेरै नै हुन्छ। हातले समाउने भाग काठको र अरु भाग मेटलको पनि बनाउन सकिन्छ। विभिन्न बुट्टा कुँदेर काठको रेलिङलाई राम्रो बनाउन सकिन्छ। काठको रेलिङ भने भित्री सिँढीमा मात्र राख्न मिल्छ। पानीले भिज्ने बरन्डा, छतमा काठको रेलिङ प्रयोग गरिँदैन। तर, पानी नपर्ने गरि बनाएको बरन्डामा भने प्रयोग गर्न मिल्छ।
काठको रेलिङ आकर्षक भए पनि यसको निर्माण लागत अन्य मेटल रेलिङको तुलनामा बढी हुन्छ। त्यसैले यो प्रयोग गर्दा बजेट अनुसार निर्णय गर्नु बुद्धिमानी हुन्छ।
रेलिङ लगाउँदा यसको हाइट, म्याटेरियल आदीलाई विशेष ध्यान दिनुपर्छ। घरको प्रकार अनुसार रेलिङ पनि फरक फरक किसिमको राख्न सकिन्छ। तर उचाइ भने ठाउँ र आवश्यकता हेरेर ३० देखि ३८ इन्च हुनु आवश्यक छ ।
त्यसैले, रेलिङ छान्दा केवल डिजाइन मात्र होइन, निर्माण लागत र सुरक्षा दुबै कुरा बराबर ध्यानमा राख्न जरुरी हुन्छ।