ढलान र वालमा क्युरिङ नगर्दा के हुन्छ?

2024-07-18 15:12:37


ढलान र वालमा क्युरिङ किन गर्ने? क्युरिङ नगर्दा के हुन्छ?

घर बनाउँदा निर्माण सामाग्रीहरुको छनोट, त्यसको प्रयोग र निर्माण प्रकृयामा निकै ध्यान दिनुपर्ने हुन्छ।

घर बनाउने क्रममा कंक्रिटको काम अत्यन्त महत्वपूर्ण हुन्छ। कंक्रिट भनेको सिमेन्ट, बालुवा, गिट्टी र पानीको घोल हो। हामीले मात्रा मिलाएर सबै सामाग्रीहरुको मिश्रण गर्न सक्यौं भने मात्र घोल राम्रो बन्छ। घर कति बलियो हुने भन्‍ने कुरा कंक्रिटको गुणस्तरले पनि निर्धारण गर्छ।

कमजोर कंक्रिटिङ गरेको खण्डमा भूकम्पजस्तो प्राकृतिक घटनामा छिट्टै नै संरचना भत्किने हुन सक्छ। हुन त भूकम्पबाट सुरक्षाको लागि डन्डीको भूमिका अझ बढी महत्वपूर्ण हुन्छ, तर आज हामी कंक्रिट र क्युरिङमा आधारित भएर निर्माण कार्यको चर्चा गरौँ।

पर्खाल र ढलानमा पानी हालेर चिसो बनाएको सबैले देखेका छौं। तर किन पानी हाल्छौँ, यसबारे धेरैलाई थाहा नहुन सक्छ। आज यसबारे कुरा गरौं। 

घर निर्माण गर्दा जगदेखि नै कंक्रिटको काम हुन्छ। घर बनाउँदा प्रायः सिमेन्ट कंक्रिट प्रयोग हुन्छ। सिमेन्ट, बालुवा र गिटिलाई पानीसँग घोलेर प्रयोग गरिने हुँदा यो मिश्रण पहिले गिलो हुन्छ र यसलाई अड्याउनको लागि फर्माको सहयोग लिनुपर्ने हुन्छ।

एक लेभलमा सेट भइसकेपछि फर्मा खोलिन्छ। निर्माणले अझ मजबुती पाउन पानी हालेर भिजाउने काम सुरु हुन्छ। यसलाई प्राविधिक भाषामा क्युरिङ भनिन्छ।

किन गरिन्छ त क्युरिङ? यसबारे पनि बुझौं।

बजारबाट ल्याइएको सिमेन्ट हातले छाम्दा चिसो हुन्छ। तर त्यसमा पानी राख्यौं भने त्यसमा ताप उत्पन्न हुन्छ। यसरी पानीको सम्पर्कबाट ताप उत्पन्न भएको मिश्रणलाई फेरि चिसो अवस्थामा राख्न क्युरिङ गरिन्छ। अर्थात ढलान र पर्खालमा पानी हालिन्छ। यसरी पानी हालेपछि मात्र कंकृटले पूर्ण रूपमा बल पाउँछ। सिमेन्ट मिश्रित सबै ठाउँमा आवश्यकता अनुसार क्युरिङ गर्नुपर्छ।

क्युरिङ नगरेको कंक्रिट भन्दा क्युरिङ गरेको कंक्रिटको भारवहन क्षमता दुई गुणसम्म हुने विभिन्न ल्याव परिक्षणबाट पुष्टि भएको छ। यसबाट पनि हामीले क्युरिङको आवश्यकता बुझ्न सक्छौं।

कहाँ कहाँ गरिन्छ क्युरिङ?

सामान्य भाषामा भन्दा सिमेन्टको प्रयोग भएको सबै ठाउँमा ७ देखि २२ दिनसम्म पानी हाल्नु पर्छ। बिहान बेलुका र अवश्यकता अनुसार पानी हालेर घरलाइ चिसो बनाइराख्नु पर्छ। गर्मी मौसममा दिनको ३ या ४ पटकसम्म क्युरिङ गर्नुपर्ने हुनसक्छ। यसमा घरको भित्ता, छत, पिलर, बिम आदि पर्छन्।

कहाँ कति दिन क्युरिङ गर्ने

इँटाको पर्खालमा कम्तिमा १० दिनसम्म दिनको ३ पटकका दरले क्युरिङ गर्नुपर्छ।

प्लास्रमा कम्तिमा  ७ दिनसम्म दिनको ३ पटक वा आवश्यकता अनुसार क्युरिङ गर्नुपर्छ।

ढलानमा २८ दिनसम्म लगातार क्युरिङ गर्नुपर्छ।

क्युरिङ गर्ने तरिकाहरू

क्युरिङ गर्नु भनेको कंक्रिटलाई लगातार पानीले भिजाइराख्नु हो। यसरी पानीले निश्चित दिनसम्म भिजाइराख्नाले सिमेन्टले राम्ररी काम गर्न पाउँछ। निर्माण क्षेत्रमा विभिन्न उपाय अपनाएर कंक्रिटलाई चिसो बनाइराख्ने गरिन्छ।

ढलानमा ताल बनाएर : यो विधि ढलानमा मात्र प्रयोग गर्न सकिन्छ। छेउछाउबाट पानी लिक नहुने गरि मसलाको डिल बनाएर पानी जमाइराख्नाले ढलानमा निरन्तर क्युरिङ भइरहन्छ।

जुटको बोरा भिजाएर : पिलर र भर्‍याङमा क्युरिङ गर्दा पानी बगेर गैहाल्ने भएकाले जुटको बोरा भिजाएर कंक्रिटलाई छोपिराख्दा क्युरिङ प्रभावकारी हुन्छ। जुटको बोरा भिजाएर पिलरमा बाँध्न सकिन्छ। र सुकेपछि त्यसैमा पानी हालेर भिजाइराख्न मिल्छ।

स्प्रिङ्कल प्रयोग गरेरः स्प्रिङकल प्रयोग गरेर पनि घरको विभिन्न स्थानलाइ चिसो बनाइराख्न सकिन्छ। यो कृषि क्षेत्रमा प्रयोग हुने एक धारो हो। जसले निश्चित स्थानबाट वरिपरिका भागहरुमा लगातार क्युरिङ भइरहन्छ। जसलाई निर्माणमा सजिलै प्रयोग गर्न सकिन्छ।

क्युरिङ नगर्दा के हुन्छ?

धेरैलाई क्युरिङ नगरेपनि हुन्छ जस्तो लाग्नु स्वभाविक हो। अझ कतिपयले फुर्सद भएको दिनमा मात्र पानी हाल्ने पनि गर्दछन्। तर क्युरिङ गर्न अल्छि मान्नु हुँदैन। राम्ररी क्युरिङ नगर्दा भवनको भार बहन क्षमतामा कमी आउनुका साथै सम्पूर्ण निर्माण कमजोर हुन पुग्छ। त्यस्तै प्लास्टरमा राम्रोसँग क्युरिङ नगर्दा भित्तामा छिटै क्र्याक आउन सक्छ। यसले पुरै घरको सुन्दरतालाई बिगार्छ। र मर्मत खर्च पनि बढाउँछ।  


Have a project for us?

DO YOU HAVE ANY QUESTIONS REGARDING YOUR NEXT CONSTRUCTION PROJECT?