प्लास्टर किन चर्किन्छ, चर्किन नदिन के गर्ने?

Published on: Jul 07, 2024


प्लास्टर किन चर्किन्छ, चर्किन नदिन के गर्ने?

किन चर्किन्छ प्लास्टर, चर्किन नदिन के गर्ने? 


हामीले देखेकै छौं होला, भरखरै निर्माण सकिएको घरमा पनि भित्ता चर्किने समस्या आएको हुन्छ। यस्तोमा सामानको गुणस्तर र लगाउने तरिकाले धेरै फरक पारेको हुन्छ। ईंटा, बालुवा, सिमेन्ट, पानीको घोलबाट वाल बनाउँदैमा बलियो हुँदैन। वाल लगाउने केही प्रकृया छन्, त्यसलाई फलो गर्नैपर्छ। 

तर, पछिल्लो समय धेरैलाई फुर्सद छैन्। आफ्नो जीवनभरको कमाइले बनाउने घर पनि ठेक्कामा लगाएर ढुक्कसँग बस्‍ने प्रवृत्ति छ। ठेकेदारको पूर्ण विस्वासमा पर्दा पछि आफैंलाई समस्या पर्न सक्छ। घर बलियो बनाउने भन्दा पनि छिटो काम सकिदिने आश्वासनमा घरधनीहरू पछर्न। जसको गलत फाइदा ठेकेदारले उठाएको हुनसक्छ। यस्तो कुरामा भने हामी आफैं चनाखो हुनै पर्छ। 

सबैभन्दा पहिला गारो बलियो हुन इँटा गुणस्तरीय हुनुपर्छ। इँटा ठोक्याउँदा फलामले हानेको जस्तो सुख्खा आवाज निस्कनुपर्छ। यस्तो इँटालाई गुणस्तरीय इँटा मानिन्छ। त्यस्तै इँटालाई प्रयोग गर्नु पहिले पानीमा राम्रोसँग भिजाउनु पर्छ। र, पानीमा भिजाउँदा पनि इँटा फुल्नु हुँदैन। यदी फुलेको छ भने त्यो इँटा प्रयोग गर्नु हुँदैन। 

यसरी भिजाएको इँटालाई सही अनुपात मिलाएर बनाएको मसला राखेर वाल लगाउँदा बलियो हुन्छ। राम्रोसँग भिजेपछि मसलासँग इँटा राम्ररी ज्वाइन हुन्छ। 

इँटाको वाल लगाएपछि पनि पानीले भिजाइरहनु पर्छ। कम्तीमा ७ दिनसम्म नियमित भिजाउनुपर्छ। वालले पानी सोस्‍न छाडेपछि बल्ल प्लास्टर लगाउने काम सुरु गर्नुपर्छ। 


प्लास्टर लगाउँदा पनि केही प्रकृयालाई ध्यान दिनुपर्छ। 

१. इँटाको लेवल

लेवल मिलाएर मात्र इँटा लागाउनु पर्छ। लेवल नमिलेको अवस्थामा नमिलेको भागलाई प्लास्टरले छोप्नुपर्ने हुन्छ। जसकारण प्लास्टरको लेवल बाक्लो हुन जान्छ। र प्लास्टर उप्किन सक्छ। 

२. फाइवर मेसको प्रयोग

पर्खाल र वालको जोडाइ भएको स्थानमा समान्य तरिकाले प्लास्टर गर्दा पछि त्यहाँ चर्किने सम्भावना ज्यादा हुन्छ। यो समस्याबाट समाधान पाउन त्यस्तो जोडाइमा फाइवर मेसको प्रयोग गर्नुपर्छ।

त्यस्तै वायरिङको लागी पाइप राखिएको स्थानमा पनि चर्किने सम्भावना ज्यादा हुन्छ। त्यसको माथि पनि फाइवर मेस राखेर प्लास्टर गर्दा भित्ता चर्किने समस्याबाट बच्न सिकन्छ।  

३. क्युरिङ र ह्याकिङ

प्लास्टर गर्नु पहिले वाललाई राम्रोसँग पानीले भिजाउनु पर्छ। भिजेको इँटामा सिमेन्ट बालुवाको मिश्रणले राम्रो मजबुती पाउँछ। इँटाले पानी साेस्न छोडेपछि मात्र प्लास्टर गर्नुपर्छ। प्लास्टर गरिसकेपछि पनि ७ देखि १० दिनसम्म राम्रोसँग पानीले भिजाउनु पर्छ। 

कंक्रिट सतहमा प्लास्टर गर्दा सुरूमा ह्याकिङ गर्नुपर्छ। ढलानको सतहमा प्लास्टर राम्ररी बसोस् बनेर बनाइने ससाना खाल्डोलाइ ह्याकिङ भनिन्छ। चिल्लो सतहमा प्लास्टर गर्नु हुँदैन। प्लास्टर राम्रो बस्दैन।

त्यस्तै प्लास्टर गर्न राम्रो गुणस्तरको बालुवा चाहिन्छ। र प्लास्टरमा पिपिसी सिमेन्ट मात्र प्रयोग गर्नुपर्छ।


प्लास्टर गर्दा हुने गल्ती 

सामान्यतया गाउँघर तिर पटक पटक मसला बनाउन गाह्रो हुने मानेर एकै पटर मसला बनाइन्छ। र दिनभरी एक वा २ जनाले काम गरिरहेका हुन्छन्। मसला सुख्खा भए त्यसैमा पनी राखेर ठिक्क हुनेगरि तयार पारिन्छ। तर त्यसो गर्नु हुँदैन।

एक पटक बनाएको मसला १ देखि २ घण्टभित्र प्रयोग गरिसक्नुपर्छ। एक पटक मसला सुकेपछि सिमेन्टले बोण्डिङ क्षमता गुमाइसकेको हुन्छ। त्यसमा फेरी पानी हालेर मसला बनाउनाले सिमेन्टले काम गर्दैन। निर्माण लामो समय टिक्दैन। छिटै चर्किन्छ।

माटोको सतहमा सिमेन्ट बालुवाको मिश्रण बनाउनु हुँदैन। मसलामा राखेको पानी माटोले सोस्छ साथै माटो मसलामा मिसिन जान्छ। जसले निर्माण कमजोर बनाउँछ।

प्रायः सोधिने प्रश्नहरू (FAQs)

१. नयाँ घरमा पनि प्लास्टर किन चर्किन्छ?

प्लास्टर चर्किनुको मुख्य कारण खराब गुणस्तरको सामग्री, गलत अनुपातको मसला, राम्रोसँग क्युरिङ नगर्नु, र हतारमा काम गर्नु हो। इँटा राम्ररी भिजाएर नलगाउनु र सुकेको मसलामा फेरि पानी मिसाउनु पनि ठूलो कारण हो।

२. प्लास्टर चर्किन नदिन सबैभन्दा महत्वपूर्ण कुरा के हो?

सही क्युरिङ (७–१० दिन पानीले भिजाइराख्नु), राम्रो गुणस्तरको बालुवा र PPC सिमेन्ट प्रयोग गर्नु, र भित्तालाई प्लास्टर अघि राम्ररी भिजाउनु अत्यन्त आवश्यक हुन्छ।

३. फाइबर मेस किन प्रयोग गर्नुपर्छ?

भित्ता जोडिने ठाउँ, बीम–वाल जोइन्ट, र वायरिङ पाइप भएको भागमा चर्किने सम्भावना बढी हुन्छ। फाइबर मेस राख्दा त्यस्ता संवेदनशील भागमा दबाब बराबरी बाँडिन्छ र चर्किने जोखिम घट्छ।

४. सुकेको मसला फेरि पानी हालेर प्रयोग गर्दा के समस्या हुन्छ?

एक पटक सुकेको मसला आफ्नो बन्डिङ क्षमता गुमाइसकेको हुन्छ। त्यसमा फेरि पानी मिसाएर प्रयोग गर्दा प्लास्टर कमजोर हुन्छ र छिट्टै चर्किन्छ वा उप्किन्छ।

५. प्लास्टर अघि ह्याकिङ किन गर्नुपर्छ?

कंक्रिट सतह चिल्लो हुन्छ, जसले गर्दा प्लास्टर टाँसिँदैन। ह्याकिङ गर्दा साना खाल्डा बनाइन्छ जसले प्लास्टरलाई समात्ने सतह दिन्छ र मजबुती बढाउँछ।