सुन्दर र सजिलो भान्सा डिजाइन टिप्स – Modern Kitchen सजाउने सजिलो उपाय

Published on: Jul 03, 2024


सुन्दर र सजिलो भान्सा डिजाइन टिप्स – Modern Kitchen सजाउने सजिलो उपाय

यसरी बनाउनुहोस् सुन्दर र सजिलो भान्सा

हिजोआज मोडुलर भान्सा निकै रुचाइएको छ। व्यवस्थित, छरितो र सफा गर्न सजिलोका हिसावले यो किसिमको भान्सा प्रिय बनेको छ। सानो स्थानमा आफ्नो चाहना अनुसार कस्टमाइज गर्न मिल्नु नै यसको मुख्य विशेषता हो। यसको डिजाइन नै यसरी गरिएको हुन्छ कि बाहिरबाट हेर्दा निकै सुन्दर देखिन्छ। साथै सामान व्यवस्थापन गर्न पनि निकै सजिलो हुन्छ।


मोडुलर किचेनका विषेशता

भान्साका साना देखि ठूलासम्मका सामान राख्न पहिले नै डिजाइन गरिएको हुन्छ। फ्रिज, वासिग मेसिन, चिम्नी, लगायत ठूला सामानको स्थान तय गरिन्छ। बाकी रहेको स्थानमा पनि आकर्षक डिजाइनमा स्ल्याव, सिंक, चुल्हो, आदी निश्चित गरिन्छ। साना साना भाडाँराख्नका लागि अलगै स्थान, डिव्वाडिव्बि राख्नका लागि अलगै घर्राहरु बनाइन्छ।

साथै विद्युतीय पूर्तिका लागि पावर सकेट पनि आवश्यकता अनुसार पहिले नै डिजाइन गरिन्छ।

यति भएपछि भान्सामा परिवारको कुनै पनि सदस्यले विना कुनै समस्या राम्ररी खाना बनाउन सक्नेछन्। निर्धारित स्थानमा नै भान्साको सामानहरु हुने भएपछि अनावश्यक झन्झट वा कुनै दुविधा व्यहोर्नु पर्दैन।

मोडुलर भान्सा बनाउन कोठा भत्काउनु पर्दैन। बेग्लै स्ल्याब पनि आवश्यक पर्दैन। यसको तल्लो तहमा छुट्टाछुट्टै बाकस हुन्छन्। यस्तो बाकसको माथिल्लो भागमा ग्रेनाइटले सतह मिलाइन्छ। यस्ता बाकसहरुमा सामान राख्न अलगै स्थान बनाइन्छ।

यसलाई मर्मत गर्न पनि निकै सजिलो हुन्छ। कुनै एक बाकसको घर्रा विग्रिए सोही बाकस मात्र फेर्न मिल्छ। घर वा कोठा सर्नु परेको अवस्थामा पनि मोडुलर भान्सालाई सजिलै खोलेर सार्न सकिन्छ।

अनि किचनबाट निस्कने फोहोर सजिलै राख्न मिल्ने डब्बा पनि हुन्छ। यो डब्बा बाहिरबाट नदेखिने गरी बनाइन्छ। यस्ता सजिला विशेषताहरुकै कारण मोडुलर किचन कन्सेप्ट रुचाइएको छ।

 

मोडुलर किचन बनाउदा ध्यानदिनुपर्ने कुरा

मोडुलर भान्सा कोठा निर्माणमा प्रयोग हुने सबै सामाग्री पानी र आगोबाट बच्ने हुनुपर्छ। सुरुमा आकर्षक देखिएपनि पानी पसेर पाटेसन बोर्डहरु कुहिएर काम नलाग्ने भएको उदाहरण हामीले भेटेका छौं। त्यसैले निर्माण जिम्मा लिने प्राविधिकसँग गुणस्तरीय सामानका लागि सम्झौता समेत गर्नुपर्छ। त्यस्तै हार्डवेयर जस्तै ह्यान्डल, स्लाइडहरू पनि राम्रो गुणस्तरको हुनुपर्छ।

भान्सा कोठामा सामान राख्न प्रशस्त ठाउँ हुनुपर्छ। र भान्साको स्ल्याबको तपाईको उचाइ अनुसारको हुनुपर्छ। अग्लो वा होचो भएको अवस्थामा किचन छरितो हुँदैन। अनावश्यक थकान हुनेछ ।

फ्रिज, खाना पकाउने चुल्हो र भाडा माझ्ने सिन्क एकअर्काको नजिकै हुनुपर्छ । यी तीन स्थानहरू सबैभन्दा बढी प्रयोग आउनेछन्। यदि तिनीहरू भान्साको विपरित कुनामा राखियो भने थकान बढ्नेछ। यी सामान्य कुराहरुले मोडुलर किचनलाई व्यवस्थित बनाएको हुन्छ।

 

यसरी बनाउनुहोस् भान्सालाई थप सुन्दर

किचन गार्डेन

भान्साका झ्याल वा कुनै कुनामा सानासना इन्डोर प्लान्ट राखेर भान्सालाई थप सुन्दर बनाउन सकिन्छ। यसका अलावा, खुर्सानी, धनिया लसुन, प्याजका बोटहरु रोप्न पनि सकिन्छ। यीनका गमला वा भाडोलाई आकर्षक देखिनेगरि पेन्ट गर्दा अझ राम्रो हुन्छ।

ढोकाको बाहिर र भित्र ठूलो साइजको इन्डोर प्लान्ट राख्न सकिन्छ। विभिन्न डिजाइनका भाडा र तिनका सजावटले पनि भान्सालाई आकर्षक देखाउन मदत गर्छ।

फलफुलको बास्केट

डाइनिङ टेवल वा स्ल्यावको कुनै छेउमा फलफुलको बास्केट राख्नाले भान्साको सुन्दरता अझै बढ्छ। साथै भान्सामा प्रवेश गर्ने जो केहीले तुरुन्तै खानेकुरा खाइहाल्न सक्छन्। दिन पनि सजिलो हुन्छ।

प्राकृतिक प्रकाश

बास्तु अनुसार भान्सा पूर्व तिर हुनु राम्रो मानिन्छ। त्यसैले पनि भान्सामा पर्याप्त सूर्यको प्रकास र ताप हुनु जरुरी हुन्छ। भान्सामा हुने झ्यालले भान्सालाई आकर्षक मात्र देखाउँदैन, खाना पकाउनेलाई पनि रमाइलो अनुभूति दिलाउँछ। भान्सामा उज्यालो र चम्किलो रंग लगाएर पनि थप आकर्षक बनाउन सकिन्छ।

प्रायः सोधिने प्रश्नहरू (FAQs)
१. मोडुलर भान्सा किन लोकप्रिय बन्दैछ?
मोडुलर भान्सा व्यवस्थित, सफा गर्न सजिलो, सानो ठाउँमा पनि फिट हुने, र आकर्षक डिजाइनका कारण लोकप्रिय भएको हो। यसले भान्साका सबै सामानलाई निश्चित स्थान दिन्छ र काम गर्न सजिलो बनाउँछ।
२. मोडुलर भान्सा बनाउन कति ठाउँ चाहिन्छ? धेरै ठूलो ठाउँ आवश्यक पर्दैन। मोडुलर भान्सा सानो कोठामा पनि कस्टमाइज गरेर बनाउन सकिन्छ। डिजाइन सही भए सानो भान्सा पनि खुला र व्यवस्थित देखिन्छ।
३. मोडुलर भान्सा बनाउँदा सबैभन्दा ध्यान दिनुपर्ने कुरा के हो?
पानी र आगोबाट नबिग्रिने गुणस्तरीय सामग्री प्रयोग गर्नु सबैभन्दा महत्वपूर्ण हो। साथै स्ल्याबको उचाइ, स्टोरेज स्पेस, र हार्डवेयर (स्लाइड, ह्यान्डल) पनि राम्रो हुनुपर्छ।


४. मोडुलर भान्सा मर्मत गर्न गाह्रो हुन्छ?
होइन। यसको एउटा ठूलो फाइदा नै सजिलो मर्मत हो। कुनै एक भाग बिग्रिएमा पूरै भान्सा फेर्नु पर्दैन — बिग्रिएको भाग मात्र बदल्न सकिन्छ।


५. राम्रो मोडुलर भान्साको लेआउट कस्तो हुनुपर्छ?

फ्रिज, चुल्हो, र सिन्क एकअर्काको नजिक हुनुपर्छ। यसलाई “वर्क ट्राएंगल” भनिन्छ। यसले अनावश्यक हिँडडुल घटाउँछ र काम छिटो तथा सजिलो बनाउँछ।